६ आश्विन २०८१, आइतबार

मेला आयोजना गर्दै घरेलु तथा साना उद्योग महासंघ: सर्टिफाइड अर्गानिक उत्पादन देखी महिला उद्यमीका उत्पादन

प्रकाशित मिति :  5 January, 2023 6:57 pm


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले २०७९ फागुन २ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङगारिक कृषि मेला गर्ने भएको छ । महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौ प्राङगारिक कृषि मेला २०७९ भृकुटीमण्डपमा आयोजना हुने जनाएको छ ।

“नेपाली वस्तु प्रयोग गरौ, नेपाली भएकोमा गर्व गरौं र “मिहनेत, श्रृजना, उत्पादन र वस्तु मेरै नेपालको“ मुख्य नारा रहेको यस प्रदर्शनीमा देशभरका झण्डै ६ लाख भन्दा बढी लघु घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरु लाई यसले प्रतिविम्बित गर्ने जनाइएको छ ।

यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बिटुबी, बिटुसी र बिटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।

अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलब्ध गराउन अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शान्ता बाँस्कोटा कोइरालाले जानकार दिइन्। “सर्टिफाइड अर्गानिक उत्पादनदेखी महिला उद्यमशीलताका उत्पादनले मेलामा उच्च स्थान पाउने छन्”, बाँस्कोटाले भनिन्, “मेलापश्चात अर्गानिक उत्पादनले स्वदेशमा पनि ठुलो बजार पाउने अपेक्षा लिएका छौँ ।”

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने उल्लेख गरिएको छ । प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा रु। ७ करोड भन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ ।

हरेक वर्ष हुँदै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण ३ बर्षदेखि स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !