प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न काँग्रेसले विश्वासको मत दियाे: नेता पौडेल
काठमाडाैँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
बुधवार पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले ५ वर्ष भित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफ्नो पार्टीले विश्वासको मत दिएको बताए । ‘हामी सत्तामा नगई तलबाटै सहयोग गर्ने । अहिले सरकारमा जाने कुरा नै छैन । हामी सरकारमा जाँदैनौं । अहिले राष्ट्र निर्माणमै एकता गरेर अघि बढ्नुपर्दछ,’ वरिष्ठ नेता पौडेलले भने ।
उनले नेपाल राष्ट्रलाई एकीकरण गरे पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुशी र गौरवको विषय भएको समेत बताए। पृथ्वीनारायण शाहको दिव्य उपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरुले मिलेर काम गर्नुपर्ने उनकाे भनाइ थियाे ।
सुशासन, भ्रष्टाचारको उन्मुलन आजको आवश्यकता भएकाे बताउदै नेता पाैडेलले मिलेर काम गरे नेपालले पाँच वर्षमा धेरै ठूलो विकासको फड्को मार्ने बताए ।