करेन्ट लगाएर माछा मार्दा पाल्पामा एक जनाको मृत्यु
काठमाडौँ । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हमिनका ३० वर्षीय विष्णुबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
माथागढी गाउँपालिका वडा नम्बर १, चिदिपानी अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर थापाको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
रातिको समयमा माछा मार्नका लागि विद्युत्को मुख्य लाइनबाट हुक लगाएर तयारी गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक थापासँगै माछा मार्न गएका आठ युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले रम्भा गाउँपालिका वडा नम्बर ४ का यमप्रसाद दर्लामी, विष्णुबहादुर दर्लामी, सुजन रेस्मी, सोमबहादुर सिंजाली, सोमबहादुर गाहा, रिकमान दर्लामी, निशान दर्लामी, मदनबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो ।