रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको माघ ४ गते बुधबार विहान बसेको संचालक समितिको बैठकले हाल कायम चुक्त पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
जसअनुसार कम्पनीले १ः०.५० को अनुपातमा १०० अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद निष्कासन भएको हो ।
कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो वलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूँजी व्यवस्थापन गर्न कम्पनीको बोनस सेयर वितरण पश्चात् कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशत अर्थात १ः०.५० को अनुपातमा १०० अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय भएको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद सेयर नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश गर्ने जनाएको छ । त्यसपछि बोर्डले हकप्रद सेयर जारी तथा निष्कासनको लागि अनुमति दिएपछि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।