४ आश्विन २०८१, शुक्रबार

तथ्यमा पर्दा हालेर झूठको खेती नगर्न प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको चेतावनी

प्रकाशित मिति :  9 April, 2020 1:04 pm


काठमाडौं २७ चैत ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रपतिदेखि कर्मचारीसम्मले कोरोना सम्बन्धि राष्ट्रिय कोषमा रकम जम्मा भईसकेको भन्दै झुठको खेती नगर्न चेतावनी दिएका छन् ।

दिन रात सुरक्षामा खटिएका प्रहरीको तलब काटेर कोषमा जम्मा गरिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि प्रेस सल्लाहकार थापाले भनेका छन्,‘कोषमा शून्य रकम पनि योगदान नगर्ने स्वनामधन्य अभियन्ता वा अरूको नक्कल गर्न बानी परेका व्यक्तिहरूले यस सार्वजनिक तथ्यमा पर्दा हालेर झूठको खेती नगरेकै राम्रो होला । ’

थापाले कोरोना भाइरसको संक्रमणसँग जुझ्नका लागि गठित राष्ट्रिय कोषमा नेपाल सरकारले ५० करोड रुपैयाँ छुट्याउने निर्णय शुरूमै मन्त्रिपरिषद बैठकबाट गरेको भन्दै उक्त कोषमा राष्ट्रपतिबाट दुई महिनाको पारिश्रमिक जम्मा भएको जानकारी राष्ट्रपति कार्यालयले नै सार्वजनिक गरेको स्मरण गराएका छन् ।

उनले भनेका छन्,‘ सम्माननीय प्रधानमन्त्रीज्यू र मन्त्रिपरिषद्का सदस्यहरूले एक महिनाको पारिश्रमिक शुरूमै जम्मा गर्ने निर्णय भएर हाल जम्मा पनि भइसकेको छ । प्रधानमन्त्रीको सचिवालयबाट समेत सल्लाहकार र प्रमुख स्वकीय र स्वकीय सचिवहरूले एक महिना बराबर र विज्ञहरू तथा अन्यले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने सार्वजनिक घोषणा गरी हाल जम्मा भइसकेको छ ।’

सामाजिक सञ्जाल फेसबुक मार्फत सल्लाहकार थापाले संघीय संसदका सांसदहरूले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा भएअनुरूप कोषमा जम्मा पनि भएको पनि जानकारी गराएका छन् ।

उनले भनेका छन्,‘सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राष्ट्रिय जीवनका हरेक क्षेत्रका व्यक्तिहरू र संघसंस्थाहरूबाट पनि कोषमा गच्छेअनुसार रकम जम्मा भइरहेको स्पष्ट छ ।’

सल्लाहकार थापाले रोकथाम र उपचार तथा लकडाउन व्यवस्थित गर्ने काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र श्रमिकहरूलाई कामको जोखिम र घेरा हेरी विशेष भत्ता र बीमाको समेत व्यवस्था गरिएको निर्णय सार्वजनिक भएको स्मरण समेत गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !