९ मंसिर २०८१, आइतबार

टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या ३ हजार ७०० नाग्यो

प्रकाशित मिति :  7 February, 2023 7:59 am


काठमाडौं । सोमबार टर्कीमा गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ७०० पुगेको छ । प्राप्त विवरण अनुसार अहिलेसम्म टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७०० जनाको मृत्यु भएको जनाइएको छ ।

बीबीसीका अनुसार टर्कीमा मात्रै १४ हजारभन्दा धेरै मानिस घाइतेको भएका छन् । सिरियामा पनि कयौँ घाइते भएकाहरूको उपचार भइरहेको छ । भूकम्पपछि कयौं पटक पराकम्प गइरहेको छ ।

टर्कीमा सोमबार बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले पुर्याएको क्षतिपछि टर्की सरकारले देशमा संकटकाल घोषणा गरेको छ । टर्कीका गृहमन्त्रीले देशका १० वटा सहरमा भूकम्पले बढी क्षति पुर्‍याएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गर्दै सक्दो सहयोग उपलब्ध गराउन आफ्ना निकायलाई निर्देशन दिएको र आपत्कालीन विभागबाट सहयोग परिचालन सुरु भइसकेको जानकारी दिएका छन्।

भूकम्पको धक्का साइप्रस, लेबनान, इजरायल र प्यालेस्टाइनमा समेत महसुस गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !