लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन आज, ३ उम्मेदवार प्रतिस्पर्धामा
दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी ३ जना उम्मेदवारहरु चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।
जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ। मतदान सकिएलगतै गणना सुरु गरिने र परिणाम आजै सार्वजनिक गर्ने तयारी छ।
तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले असोज २३ गते राजीनामा दिए पछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो ।