२८ पुस २०८१, आइतबार

चोरिएका २० वटा दुईपांग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  9 February, 2023 5:23 pm


काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २० वटा दुईपांग्रे सवारीसाधन फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेतीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर गरी २० ओटा दुईपांग्रे सवारीसाधनका सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत साउनदेखि बुधबारसम्म दुईपांग्रे सवारीसाधन हराएको भनी ९ सय ९७ वटा निवेदन प्राप्त भएका थिए। प्राप्त निवेदनका आधारमा चोरी भएका सवारीसाधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३१४ अनुसन्धानका लागि ल्याइएको थियो।

तीमध्ये साउन महिनामा ७३ वटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा, मंसिरमा ३७ वटा र पुसमा ५१ वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकेको छ।

यस्तै माघ महिनामा मात्र ४३ वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी यस आर्थिक वर्षमा २४ वटा चोरीका मोटरसाइकलसहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृतहरूमा पठाइएको छ।

सवारीसाधन चोरी घटना न्यूनीकरण तथा नियन्त्रण गर्न कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा ट्राफिक प्रहरी खटिँदै आएका छन्। हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि सवारी धनी पनि चनाखो र सजग हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !