३० कार्तिक २०८१, शुक्रबार

नेपालमा गुणस्तरीय विद्युतीय सवारी साधन आयात हुनुपर्छ: अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  11 February, 2023 11:30 am


काठमडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र उत्पादन गर्ने वातावरण सिर्जना गर्न छलफल भएको बताएका छन् । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पौडेलले वर्तमान समयमा विद्युतीय गाडीको माग बढ्दो रहेको र आउँदो दिनमा थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौती रहेको बताएका हुन् ।

पौडलले सवारी साधानलाई सरकारले कहिल्यैपनि विलासिताको सूचीमा नराखेको बताए । उनले भने, “पहिला अन्य मुलुकले मोबाइल फोनलाई विलासिता वस्तुको सूचीमा राखेका थिए । अहिले माेबाइल अति आवश्यक वस्तुको रुपमा संसारभर हेर्ने गरिन्छ । त्यसकारण सरकारले पनि यसलाई विलासिताको वस्तुको रुपमा राखेको छैन् ।’’

नेपालको राजस्व संकलनदेखि रोजगार सिर्जनामा अहम भूमिका निर्वाह गरेको भन्दै पौडेलले अगामी दिनमा अटो क्षेत्रलाई जोखिम हुने कुनैपनि निति तथा निर्णयहरु नगर्ने बताएका छन् । विद्युतीय चार्जिङ स्टेसनको पूर्वाधारमा सरकारले सहयोग गर्ने र त्यसमा व्यवसायी पनि अग्रसर हुनुपर्ने उनले बताए । अर्थतन्त्रका बाह्य सूचकमा केही सुधार देखिए पनि अन्य केहीमा सुधार हुन बाँकी रहेको पौडेलको भनाइ छ ।

त्यस्तै नाडाका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार गठन भएसँँगै राज्यको अर्थतन्त्रमा केही सुधार भएको र अटो क्षेत्रका समस्यामा समाधान भएको बताए । अध्यक्ष थापाले नेपालमा सवारीसाधान आयातमामात्र आधारित नभएको र पछिल्लो समय नेपालमै गाडी उत्पादनदेखि एसेम्बल समेत भएकाले सरकारले नितिहरु रिभ्यु गर्न जरुरी रहेको बताएका छन् ।

सरकारले विद्युतीय सवारीमा लिएको नीति राम्रो भए पनि पूर्वाधारमा समस्या रहेका कारण जुन किसिमले यसको प्रयोग बढ्नुपर्ने हो, त्यो बढ्न नसकेको थापाको भनाइ छ । उनले भने, “विद्यतीय गाडीमा जोड दिदाँ नेपालमा उत्पादन भएको बिजुलीको खपतका साथै पेट्रोलियम पर्दाथको लागि अन्य मुलुकसँग हात फैलाउन पर्ने स्थितिको अन्त्य हुने थियो । यसको लागि सरकारले गहन छलफल गर्न जरुरी रहेको छ ।’’

अटोमोबाइल क्षेत्रले राजस्वमा २१ प्रतिशत योगदान दिनुका साथै १ लाख प्रत्यक्ष र १ लाख अप्रत्यक्ष गरेर २ लाखलाई रोजगार दिएको थापाले बताए ।



प्रतिक्रिया दिनुहोस !