४ आश्विन २०८१, शुक्रबार

काठमाण्डौं उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णयबाट सरकार पछि हट्यो

प्रकाशित मिति :  9 April, 2020 6:12 pm


काठमाडौं २७ चैत । 

काठमाण्डौं उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णयबाट संघीय सरकार पछि हटेको छ ।

प्रदेश सरकारबाट विरोध भएपछि मानिस बाहिर पठाउने प्रकृयाबारे छलफलमा पुगेको सरकार एकाएक हटेको छ ।

धेरै मानिसहरु काठमाण्डौंबाट हिडेरै विभिन्न जिल्लामा जान थालेपछि कोरोना नियन्त्रण तथा उच्चस्तरीय समितिको बैठकमा मानिसहरुलाई जिल्लामा पठाउने तयारी भएको थियो ।

तर, निर्णय सार्वजनिक भएको केहीबेरमै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विरोध जनाए भने अन्य प्रदेशभित्रका मानिसले समेत आफ्नो व्यवस्थापन हुनुपर्ने भनेपछि सरकार पछि हटेको हो ।

स्रोतले भन्यो,‘ लकडाउनका कारण अड्किएका मनिसहरुलाई पठाउने भन्ने त भएको हो तर समस्या हुने देखियो ।’ भोली र पर्सी नै पठाउँदा स्रोत साधान र व्यवस्थापनका हिसाबले समेत जटिल बन्ने देखिएपछि सरकार पछि हटेको हो । यद्धपी तयारी भने भईरहेको छ ।

                                                  समितिका संयोजक ईश्वर पोख्रेलले जारी गरेको विज्ञप्ति

              भोली र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ ।

यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं ।

यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

 



प्रतिक्रिया दिनुहोस !