६ आश्विन २०८१, आइतबार

कृषिमा आधारित उद्योगहरू नेपालको लागि उपयुक्त: प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  14 February, 2023 6:37 pm


काठमाडौँ । कृषिमा आधारित उद्योगहरु नेपालको लागि उपयुक्त रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन् । १६ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेलाको उद्धघाटन गर्दै दाहालले लघु घरेलु उद्योग भन्दा पनि कृषिमा आधारित उद्योगलाई प्रथामिकता दिएर अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, “हाम्रो मौलिक सांस्किृतक परम्परा विकास गर्न र कृषि उत्पादन वृद्धि गर्न मौलिक तरिका प्रयोग गरेर रोजगार र उद्योग सिर्जना गर्नुपर्छ । त्यो नगरि हामीले नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको समाजिक न्याय र समाजवाद उन्मुख राज्यको परिकल्पना गरेका छौँ, त्यो पूरा गर्ने सक्ने स्थिति रहेको छैन ।’’

दाहालले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएका यस्ता कार्यक्रमहरु कोभिड १९ का कारण केही अवरोध भएतापनि पुन: सुरु गरेकाले सफलताकाे शुभकामना समेत व्यक्त गरेका थिए ।

उनले भने, “मलाई नेपालको आर्थिक स्थिति बारे थाहा भएको र प्रधानमन्त्री भएपछि पहिलो बैठकमा निजि क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको महत्वबारे र आर्थिक क्षेत्रमा देखा परेको संकटको समाधान गर्नको लागि सरकारले उच्च प्रथामिकता राखेको छ । तपाईँहरुको समस्याको समाधान तर्फ हामी अघि बढ्छौँ ।’’

दाहालले लामो समयदेखिको अस्थिरता तथा महामारीको कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पुजिँको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको र आउने दिनमा ठोस रुपमा अघि बढ्ने प्रतिबद्धता समेत व्याक्त गरे।

त्यस्तै नेपालमा बढ्दै गएको बेरोजगारलाई न्युनिकरण गर्नको लागि घरेलु तथा साना उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए । अध्यक्ष सिंहले नेपालको अर्थतन्त्र निकै नै धरापमा रहेको अर्थतन्त्रलाई मजबुत बनाउको लागि यस्ता उद्योगहरुलाई प्रोत्साहन गरेर बजारीकरणको लागि केही सहज वातावरण सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।

उनले राज्यका हरेक सरकारी कार्यालयमा नेपालमा उत्पादन भएका वस्तुहरुको प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । उनले भने, “२०७१ सालमा सरकारले आफैँले सरकारी कार्यालयहरुमा नेपालमा उत्पादन भएका वस्तुहरुको प्रयोग गर्ने भनेर ऐन बन्यो तर त्यो कागजमा मात्रै सिमित रहेको छ । सरकारले घरेलु उद्योग प्रोत्साहन गर्नको लागि यस्ता वस्तुको प्रयोग गर्नुपर्छ ।’’



प्रतिक्रिया दिनुहोस !