३० कार्तिक २०८१, शुक्रबार

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ :प्रचण्ड

प्रकाशित मिति :  20 February, 2023 5:13 pm


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताए ।

सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले भने, “मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनितिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि त्यी शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमति मार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो।’’

“राष्ट्रिय सहमतिका लागि विभिन्न बिकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन, उनले भने, “राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ।’’

वर्तमान सरकार जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको प्रधान्मन्त्री प्रचण्डले बताए । उनले भने, “नयाँ सरकारले जनताको पक्षमा महत्त्वपूर्ण कामहरू गरेको छ। अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको छ, सुधार पनि आएको छ। सरकारी सेवाप्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ। हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ।’’



प्रतिक्रिया दिनुहोस !