३० कार्तिक २०८१, शुक्रबार

सिसिटिभीको सहायताबाट ४ हजार बढी सवारी चालक कारबाहीमा

प्रकाशित मिति :  20 February, 2023 6:11 pm


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखी हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ जना चालकलाई सिसिटिभीको सहायताबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेको कन्ट्रोल रुमले तत्काल दिएको सुचनाका आधारमा ३ हजार २९२ जना र ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई काठमाडौँ उपत्यकाको बिभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

जसमा साउन महिनामा ३४१ जना, भदौमा ६८० जना, असोजमा ४८२ जना, कार्तिकमा ३६६ जना, मंसिरमा ६६२ जना, पुषमा ९२५ जना, माघमा ८१४ जना र फागुनमा ४४ जना चालकहरू कारबाहीमा परेको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !