लघुवित्तका कर्मचारीले घरमै पुगेर यातना दिएको ॠणीहरुको आरोप
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरुले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन् ।
पछिल्लो समय लघुवित्तका कारण गाउँमा बस्ने महिलाहरु असुरक्षित महशुस गर्नुका साथै तराईका जिल्लाहरुमा ऋणीहरु यातना खेप्न बध्य भएका हुन् ।
लघुवित्तहरुले ऋण तिर्न नसकेको भन्दै मध्यरातमा घरमै पुगेर यातना दिने गरेको र लघुवित्तकै कर्मचारीले ऋणको दुरुपयोग गरी मिटर ब्याजमा पैसा लगाउने गरेको पीडितहरुले बताएका छन् ।
लघुवित्तको कर्मचारीले लघुवित्तको ऋणको दुरुपयोग गरी गाउँघरमा महिलाहरुलाई मिटर ब्याजमा ऋणा दिने गरेको आरोप पीडितहरूको छ ।
गाउँघरमा लघुवित्त संस्थाका कर्मचारीले शुरुमा समूह निर्माण गर्ने जतिसुकै संस्थाबाट पनि ऋण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भन्दै ऋण लिन प्रोत्साहन गर्ने गरेका छन् ।
लघुवित्तहरुले ऋण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमा समेत ऋणीहरुको घरमा पठाउने र कर्मचारीहरुले मानसिक र शारीरिक यातना दिने गरेको ऋणीहरुले बताए । किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत सावाँमा जोडेर नयाँ ऋण बनाउने गरेको उनीहरुले बताएका छन् ।
सोमवार काठमाडौंमा भएको एक कार्यक्रम महोत्तरीकी लघुवित्त पीडित पुनमकुमारी महतोले २०७२ सालदेखि लघुवित्त र मिटर ब्याजीको समस्या खेप्नुपरेको बताइन् । उनले पछिल्लो समय तराईका जिल्लाहरुमा मिटरब्याजी साहुहरुले महिलाहरुलाई सडकमा निर्वस्त्र बनाएर कुटपिट गरेको गुनासो गरिन् ।
उनले तराईमा लघुवित्तको कारण महिलाहरु घर बस्न समेत नसकेको बताइन् । लघुवित्तका कर्मचारीहरु रातिसमेत घरमा गइ शरीरमा थुक्ने, शरीर व्यापार गरेर भएपनि ऋण तिर् भन्दै यातना दिने गरेको महतोले दुःखेसो गरिन ।
लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरुलाई शौचालयमा थुनिदिने गरेको उनले बताइन् । उनले घरमा ताल्चा लगाएकाले धेरै महिलाहरु घरबार बिहीन हुनुपरेको समेत उल्लेख गरिन्। उनका अनुसार घरमा आमा बुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले मनोमानी खाने गरेको गुनासो गरिन्।
“सिराहको गोलबजारमा लघुवित्तका कर्मचारीहरुले आफैँ मिटर ब्याजमा पैसा लगाएर ५ हजारको महिनामा १ हजार लिने गरेको छ । लघुवित्तको कर्मचारी भएर बस्ने तर लाखौं रुपैयाँ मिटर ब्याजमा लगाउने गरेको छ । लघुवित्त र मिटर ब्याजीको समस्यामा हामी २०७२ सालदेखि पिडामा छौं,” उनले भनिन्, “मिटर ब्याजीहरुले महिलाहरुलाई चोकचोकमा लगाएरको सारी खोलेर कुट्छन् । तराईका गाउँमा महिला दिदी बहिनीहरु लघुवित्तको कारण बस्न सकेका छैनन् । लघु वित्तका कर्मचारीहरु रातीको ९ बजेपछिसम्म चुलोको पछाडि खाना बनाउने ठाउँमा बस्छन् । शरीरमा थुक्ने गर्छन् । झुन्डिएर, बिस पिएर मर भन्ने गर्छन् । शरीर व्यापार गर् भन्छन् ।”
त्यस्तै, सिराहाकी सुनिता विश्वकर्माले लघुवित्त संस्थाबाट लिएको १ लाख ५० हजार ऋण पाँच वर्षसम्म तिर्दा पनि अहिलेसम्म नसकिएको बताइन्। उनले ११ वटा लघुवित्त समूहबाट ऋण लिएको उल्लेख गरिन् ।
आफूले एउटामा ३० र अर्कोमा ४० हजार रुपैयाँ ऋण तिर्न भएपनि लघुवित्तले १ लाख नै रहेको भन्दै तत्काल तिर्न दबाब दिँदै आएको उनले बताइन्।
उनका अनुसार लघुवित्तका कर्मचारीहरु ऋण उठाउनको लागि बिहान १० बजेदेखि बेलुका १० बजेसम्म घरमा नै बस्ने गरेका छन्। लघुवित्तको ऋण तिर्दा तिर्दा भएका गाईवस्तु र लगाएको सुन समेत सकिएर सुकुम्वासी जस्तै भएको गुनासो गरिन्।
“मैले ११ वटा लघुवित्तबाट ऋण लिएको छु । बाख्रा र कुखुरा पालनको लागि १ लाख र अर्कोबाट ५० हजार लिएको थिए । त्यो पैसा तिर्दै गयो । आदि भयो होला भन्यो लघुवित्तले तपाईको ऋण एक लाख नै हुन्छ । जति तिरे पनि सकिदैन ।,” उनले भनिन्, “मैले दिनुपर्ने एउटामा ३० हजार अर्कोमा ४० हजार दिन बाँकी छ तर लघुवित्तले १ लाख छ तिर्न बाँकी भन्छन् । बिहान १० बजे लघुवित्तका कर्मचारी आए भने बेलुका १० बजेपछि मात्रै जानुहुन्छ । भएका गाई वस्तुहरु र भएको सुन समेत सकियो अहिले केही छैन ।”
त्यस्तै, रौतहट घर भएकी डिल्लीकुमारी कार्कीले मिटर व्याजमा लिएको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको बताइन् । मिटर ब्याजमा पैसा दिनेले धेरै फसाएर सुकुम्वासी बन्ने लागेको अवस्थामा लघुवित्तले झन पीडा थपेको उनले गुनासो गरिन् ।
कार्कीले मिटरब्याजी साहुले भएको जग्गा जमिन समेत लिलाममा हालेर खाएको बताएकी छिन् । उनले लघुवित्तबाट एक लाख रुपैयाँ ऋण लिएर महिनाको १२ हजार किस्ता बुझाउँदा समेत कहिल्यै नसकिने गरेको गुनासो गिरन्। उनका अनुसार फरवाड, मेरो माइक्रो, मिथिला, डिप्रोस, गरिबी र साना किसान लघुवित्तको समूहमा बसेर ऋण लिएकी छिन् ।
यी लघुवित्तहरुमा १ लाख रुपैयाँ ऋण लिँदा जति किस्ता तिरे पनि त्यति नै ऋण देखाउने गरेको उनले बताइन् । कार्कीले लघुवित्तहरुको किस्ता तिर्दातिर्दै भएको सबै सम्पती सकिएपछि संस्थाका कर्मचारीहरु घरमा आएर यातना दिँदा १३ वर्षको छोरीले तीन महिना अगाडि आत्महत्या गरेको बताइन् । अहिले लघुवित्तको कारण घर छाडेर भाडामा समेत बस्न नसक्ने अवस्थामा रहेको गुनासो उनले गुनासो गरिन् ।
त्यस्तै, विभन्न बाहिर जिल्ला छाडेर काठमाडौँ उपत्यकामा आएर लघुवित्त समूहमा बसेर ऋण लिएर व्यवसाय गर्ने कमला मुक्तान र सुनमाया तामाङलाई समेत लघुवित्तले यातना दिएको गुनासो गरेका छन् ।
उनीहरुलाई लघुवित्तहरु आफैँले समूह बनाएर ऋण लिन बोलाएको र अहिले एउटाले ऋण तिर्न नसक्नेको भन्दै सबै महिलाहरुको निक्षेप समेत दिन नमानेको बताइन् । तत्काल किस्ता तिर्न पैसा छैन भन्दा समेत जसरी जहाँबाट भएपनि २८ दिनमा किस्ता बुझाउनुपर्ने भन्दै दबाब दिएको बताएकी छिन्।
उदार बजार अर्थतन्त्रमा लघुवित्त संस्था आफैँ जिम्मेवार बन्नुपर्ने भएपनि पछिल्लो समय त्यस्तो देखिएको छैन । लघुवित्तबाट ऋण लिने ३३ लाख ऋणी छन् । राष्ट्र बैंकले सुपरीवेक्षण गरेपछि ऋणीबाट लिन पाइने भन्दा बढी असुल गरेको १ अर्ब ६० करोड सेवाशुल्क फिर्ता गर्न लघुवित्तहरु तयार भएका छन् ।