२३ असार २०८१, शनिबार

दक्षिण कोरियामा रहेका नेपालीले बिमान चार्टर गरेर पठाएको औषधिजन्य सामाग्री काठमाण्डौं आईपुग्यो

प्रकाशित मिति :  10 April, 2020 5:48 pm


काठमाण्डौं,२८ चैत । 

दक्षिण कोरियामा रहेका नेपालीहरुले कोरोनाविरुद्धको अभियानका लागि पठाएको चार हजार कोरोना टेष्टिङ किटसहित ७५ लाख रुपैयाँ भन्दा बढीको औषधिजन्य सामग्री काठमाण्डौं आईपुगेको छ ।

कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा संक्रमण देखा पर्नुपूर्व नै सम्भावित जोखिमलाई ध्यानमा राखेर ‘एक व्यक्ति, एक हेल्थ किट अभियान’ सुरु गरेका थिए ।

नेपालीहरुले पहिलो चरणमा ४२ हजार भन्दा डलर बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीई लगायतका सामान नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।

एनआरएन कोरियाले नेपालमा आफ्ना प्रतिनीधिले सामाग्री बुझेको जानकारी गराएको छ ।

अभियानबाट संकलित रकममध्ये अहिले पहिलो चरणमा कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर पठाईएको चार हजार किट र पाँच सय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट आज दिउँसो नेपाल आइपुगेको हो ।

अभियान समाप्त भएको केही दिनमै उपकरण नेपाल पठाउने भनिएतापनि नेपाल—कोरिया हवाइ मार्ग बन्द भएका कारण केही समय ढिलो भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा अभियान सुरु गरिएको थियो ।

अभियान सुरु गरेको चार दिनमै १४ करोड २६ लाख ३७ हजार सात सय ७९ वोन अर्थात् एक करोड ४० लाख ७९ हजार सात सय ७५ रुपैयाँ संकलन भएको थियो ।

मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको उपाध्यक्ष यदु लामिछानेले बताए ।

कोरियामा उत्पादित किटले कोरोना संक्रमित भए नभएको तीन घण्टामा नतिजा दिन्छ । यसको मूल्य प्रतिकिट २० डलर पर्छ ।

नेपाल सरकारलाई कोरोनाविरुद्धको संघर्षमा सहयोग पुर्‍याउन केही सामग्री औपचारिकरुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई हिजो हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको पनि एनआरएनए महासचिव विमल सुवेदीले जानकारी दिए ।

दोस्रो चरणको सहयोग चीनबाट नेपाल जाने सामग्री नेपाल सरकारबाट हुने चार्टर्ड विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !