सडक सुरक्षा सचेतना कार्यक्रममा छ सयबढी चालक सहभागी
काठमाडौँ । ट्राफिक प्रहरीले सञ्चालन गरेको सडक सुरक्षा सचेतना कार्यक्रममा ६८२ चालक सहभागी भएका छन्। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सोमबार सडक सुरक्षा सचेतता कार्यक्रम सञ्चालन गरेको थियो।
सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्न चेतनामूलक कार्यक्रम गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय नहुने भएकाले सडकमै गएर चेतनामूलक कार्यक्रम गरिएको उनले बताए।
ट्राफिकले सञ्चालन गरेको कार्यक्रममा नयाँबसपार्क क्षेत्रमा १५०, बौद्दमा ११९, नागढुङ्गामा ९२, न्युरोडमा ७०, सुकेधारामा ६०, सोह्रखुट्टे र स्वयम्भूमा ५०र५०, कपनमा ३०, बुढानिलकण्ठमा २५, कीर्तिपुरमा २२, काँडाघारीमा ९, थानकोटमा ३ र भैंसेपाटी क्षेत्रमा २ जना गरी ६८२ जना चालकहरू सहभागी भएका थिए।
कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो। तीव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि जानकारी गराइएको भट्टले बताए।