नेपालगञ्ज उप-महानगरपालिकाले निशुल्क खाना खुवाउने,५ ठाँउमा भण्डारा सञ्चालन गर्ने निर्णय
बाँके,२९ चैत ।
नेपालगञ्ज उपमहानगरपालिकाले बाहिरबाट आएर घरभाडामा बसेका ज्यालादारी मजदुर,विपन्न वर्ग तथा विद्यार्थी लगायतलाई बिहान बेलुकी निशुल्क खाना खुवाउने निर्णय गरेको छ ।
उपमहानगरपालिकाको आज बसेको बैठकले निशुल्क खाना खुवाउन ५ ठाउँमा भण्डारा सञ्चालन गर्ने भएको छ ।
लकडाउनका कारण बाहिरबाट आएर नेपालगन्जमा बसोबास गर्ने विपन्न समुदायका ब्यक्तिका लागि खानाको व्यवस्था गर्न हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिरको पार्क, रामलीला मैदान, आदर्श मावि राँझा र शिक्षण अस्पताल पछाडिको आँप बगियामा निःशुल्क भण्डारा सञ्चालन गर्न लागेको हो ।
उप-महानगरपालिकाले लकडाउनका कारण प्रभावित भएका दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने अति विपन्न श्रमिक वर्गहरुको पहिचान गरी सम्बन्धित वडा कार्यालयहरुबाट खाद्यान्न राहत सामाग्री वितरण गरिसकेको छ ।
राहत वितरण गरिसकेका बाहेक घरभाडामा बसेका बाहिरका दैनिक ज्यालादारी मजदुर,विद्यार्थीं लगायतका अन्य विपन्न परिवारलाई दैनिक रुपमा विहान र बेलुका गरी दुइ पटक निशुल्क खाना खुवाउन नगरका विभिन्न पायक पर्ने ५ ठाँउमा भण्डारा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
निशुल्क भण्डारा सञ्चालनका लागि अनुगमन तथा सहजीकरण गर्न नगरप्रमुख डा. धवल शमसेर राणाको संयोजकत्वमा समिति समेत गठन भएको छ ।