ठूलाखर्क सेवा समाजले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान
काठमाडौँ । ठूलाखर्क सेवा समाज रुपन्देहीले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई बुधबार एक समारोहका बीच सम्मान गरेको छ । समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारेर एघार जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
अघाँखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ ठूलाखर्क स्थायी घर भई विभिन्न पेशा व्यवसायको शिलशिलामा रुपन्देहीसहित आसपासका जिल्लाहरूमा आइ बसोबास गर्नेले समाज स्थापना गरेका हुन् । समाजले बुधबार जेष्ठ नागरिक सम्मानसँगै वार्षिकोत्सव मनाएको हो ।
सम्मानित हुनेहरूमा नारायण ज्ञवाली, जगन्नाथ ज्ञवाली, विष्णुकमारी ज्ञवाली, पुरुषोत्तम ज्ञवाली, नेत्रकुमारी ज्ञवाली, खुमानन्द ज्ञवाली, काशीनाथ ज्ञवाली, तुलसादेवी ज्ञवाली, द्रुपदादेवी ज्ञवाली, खगेन्द्रराज ज्ञवाली, राधिका ज्ञवाली रहेका छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी किशोर ज्ञवाली, समाजका अध्यक्ष टामलाल ज्ञवालीलगायतले दोसल्ला ओढाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा बाेल्दै समाजका संरक्षक किशोर ज्ञवालीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताए । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उनको भनाइ छ । समाजका संरक्षक मोहन ज्ञवालीले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उनीहरूमा भएका ज्ञान आदानप्रदान गर्न सके नयाँ पुस्ताले महत्वपूर्ण कुराहरू सिक्ने बताएका थिए ।
समाजका अध्यक्ष टामलाल ज्ञवालीले वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने भन्दै उनीहरूको मार्गदर्शनबाट समाज अगाडि बढ्ने बताए । कार्यक्रमका अवसरमा समाजले प्रकाशित गरेको २०८० सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।