५ आश्विन २०८१, शनिबार

इभीमा दुगड़ ग्रुपको प्रवेश: सिंगल चार्जमा सय किलोमिटर गुड्ने गेसिट्स स्कुटर सार्वजनिक

प्रकाशित मिति :  13 March, 2023 11:38 am


काठमाडौं । एमभी दुगड़ ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल्स प्रा.लि.ले नेपालमा इन्डोनेसियन विद्युतीय स्कुटर गेसिट्स सार्वजनिक गरेको छ। ३ वटा फरक रंगका इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै दुगड ग्रुप इभिमा प्रवेश गरेको हो ।

दुगड ग्रुपले विद्युतीय सवारी साधनको क्षेत्र पहिलो पटक सहभागी जनाउँदै प्रख्यात इन्डोनेसियन ब्राण्ड गेसिट्स नेपालमा भित्र्याएको हो । काठमाडौँको नक्सालस्थित गेसिट्सको सोरुममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्गले उक्त स्कुटर सार्वजनिक गरेका हुन्। कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड़, डाइरेक्टर विजय महतो र गेसिट्स ब्राण्डको एम.भी. दुगड़ ग्रुप नेपालका लागि प्रमुख कनक जमर लगायत उपस्थित थिए ।

स्कुटर रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध छ । नेपालमा उपलब्ध भएको अहिलेसम्मको सबै भन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर भएकाे कम्पनीको दाबी छ । अन्य स्कुटरमा नभएको मोनो शक यस स्कुटरमा भएकाले ग्राभेल सडक तथा खाल्डा खुल्डी बाटोमा चलाउँदा समेत बढी लचकता हुने भएकोले आरामदायी महशुश हुने कम्पनीले जनाएको छ।

दुईवटा डिस्क ब्रेक भएको यस स्कुटर नेपालमा उपलब्ध स्कुटर मध्ये सबैभन्दा शक्तिशाली विद्युतीय स्कुटर भएकाले हिमाल, पहाड र तराईका क्षेत्रहरूका लागि उपयुक्त रहेको कम्पनीले दाबी छ । स्कुटर चोरी हुनबाट जोगाउन ब्याट्रीमा भएको डेटाकेबल निकालेर सुरक्षित स्थानमा राख्न सकिनेछ ।

स्कुटरमा ५ किलोवाटको विद्युतीय मोटर जडान गरिएको र यसमा ७२ भोल्ट र २० एम्पियर आवर (एएच) को लिथियम आयन ब्याट्री रहेकाले एक पटककाे चार्जमा १०० किलोमिटरकाे रेञ्ज दिने कम्पनीको दाबी छ । ९० मिनेटमा ब्याट्री शतप्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !