२३ असार २०८१, शनिबार

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल्यायो दुईवटा नयाँ रणनीति

प्रकाशित मिति :  12 April, 2020 4:53 pm


काठमाडाैं, ३० चैत ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अब थप दुई रणनीति अपनाएर जाने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  लकडाउनको पूर्ण पालना गराउने र परीक्षणलाई तिब्र र व्यापक बनाउने रणनीति अगाडी सारेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आज भने,‘हाल संक्रमितको संख्या थप भइरहेको अवस्थामा मन्त्रालयको तर्फबाट मुख्य दुइवटा रणनीतिहरु अगाडी सारेका छौं । त्यो रणनीति भनेको एउटा लकडाउनको पूर्ण पालना गरि क्वारेन्टाइनभित्रै रहनु हो । यसरी क्वारेन्टाइनमा रहँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न पाउँदैन र हाम्रो घरसम्म त्यो संक्रमण आउँदैन । ’

दोस्रो रणनीति अन्तर्गत परीक्षणको दायरालाई फराकिलो बनाउने मन्त्रालयको भनाई छ । मन्त्रालयका प्रवक्ता देवकोटाले भने,‘दोस्रो रणनीति भनेको परीक्षणको दायरालाई फराकिलो बनाउने हो । यसो गर्दा हामीबीच संक्रमण छ कि छैन भनेर पत्ता लगाउन सहज हुन्छ र संक्रमण भएमा उपचार गर्न सजिलो हुन्छ । समयमै पत्ता लाग्छ । संक्रमण नभएमा हामीलाई भावी रणनीति बनाउन सजिलो हुन्छ ।’

प्रवक्ता देवकोटाले दुबै रणनीतिमा पूर्ण सहयोग गर्न सबैलाई आग्रह गरे । परीक्षणका लागि किटहरु सबै ठाँउमा पुगिसकेका भन्दै उनले परीक्षण तिब्र गतिमा भइरहेको बताए ।

उनले वीरगञ्जमा भेटिएका संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई खोज्न टोली परिचालन गरिएको समेत उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !