गठबन्धनले गर्दा ठुला दल सरकार बाहिर भए: सचिव रायमाझी
काठमाडौँ । गठबन्धनले गर्दा सांसदमा रहेका ठुला दल सरकार बाहिर रहनु परेको नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको सन्धिखर्कमा उद्घाटन गर्दै रायमाझीले ठुला पार्टी एकातिर रहेकाे बताउँदै, गठबन्धनका कारण तेस्रो पार्टी (माओवादी केन्द्र) ले धेरै फूर्ति लगाएको बताएका हुन् । सचिव रायमाझिले वर्तमान गठबन्धन धेरै समय नटिक्ने र यसले देशको विकास गर्न नसक्ने दाबी गरेका हुन् ।
पाँच दलीय गठबन्धन भएर घेराबन्दी गर्दा पनि लोकप्रिय मतका आधारमा पहिलो दल भएको दाबी गर्दै पछिल्लो सयम एमालेको विरूद्धमा देशी, विदेशी शक्तिकेन्द्र लागेको उनले बताए । उनले एमाले प्रतिपक्षमा भए पनि देश, जनता, लोकतन्त्र, राष्ट्रियता, विकास, समृद्धि र सुशासनको पक्षमा सधैं रहेको बताए ।
आउँदो चुनावमा ५१ प्रतिशत एमाले सांसद बनाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको रायमाझीले बताए । पार्टीलाई कार्यगत एकता, संगठनको स्थिति मजबुद, वैचारिक, राजनैतिकरूपमा बलियो एमाले बनाउन ग्रासरुट अभियान सुरू भएको उनको भनाइ छ ।