२३ असार २०८१, शनिबार

नयाँ बर्ष २०७७ सुरु, राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्रीसहित विभिन्न दलका नेताद्धारा शुभकामना व्यक्ति

प्रकाशित मिति :  13 April, 2020 7:49 am


काठमाण्डौं, १ बैशाख ।

आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. माधव भट्टराई बताउछन् ।

‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको मानिन्छ ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्ने प्रचलन छ ।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउनेछन् ।

विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था छैन ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् ।

यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको प्रमादी ४७औँ संवत्सर हो ।

प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउछन् । नयाँ बर्ष २०७७ को अबसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा पूर्वराजाले शुभकमना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !