विश्व वित्तीय सप्ताहको अवसरमा अभियान लघुवित्तले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह (मार्च २० देखि २६ )को अवसरमा शाखा कार्यालय भुरीगाँउको आयोजनामा मंगलबार ठाकुरबाबा नगरपालिका वडा नम्बर १ डुम्रेनीमा समुदाय स्तरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।
विश्व वित्तीय सप्ताहले युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने साप्ताहिक अभियान हो ।
युवालाई वित्तीय ज्ञान, सिप र मनोवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक समृद्धिमा सघाउ पुर्याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको छ ।
कार्यक्रममा भुरीगाँउ शाखाका शाखा प्रमुखको अध्यक्षतामा एवं भुरीगाँउ अनुगमन कार्यालय प्रमुख मधुसुदन निरौलाले विश्व वित्तीय सप्ताह अन्तर्गत सञ्चालन भएका यस्ता कार्यक्रमहरूले समुदायमा वित्तीय जनचेतना बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले लघुवित्त संस्थाहरूले यस्तो कार्यक्रमहरूले समय समयमा जनसमूदायसमेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
अनुगमन प्रमुख निरौलाले वित्तीय सस्थाको कार्य, महत्व, लघुवित्तको इतिहास, कार्यहरू, सेवाहरू, बिमाको महत्व, रेमिटान्स सेवाको परिचय, बचतको महत्व, किन बचत गर्नुपर्छ ?, ग्रामीण क्षेत्रमा आत्मनिर्भर हुन कसरी लघु उद्यम गर्ने? आफ्नो लघु ब्यावसाय लाई कसरी ब्यवसाहिक बिकास गरी आम्दानी वृद्धि गर्ने ? पारिवारिक बजेट कसरी निर्माण गर्ने र यसको महत्व बारे प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा कर्मचारीहरू एवं डुम्रेनी गाँउका महिला तथा पुरुष गरी ३५ जनाको सहभागिता रहेको थियो ।