३० कार्तिक २०८१, शुक्रबार

स्याङ्जाको पेट्रोल पम्पलाई करिब नौं लाख जरिवाना

प्रकाशित मिति :  22 March, 2023 4:31 pm


काठमाडौँ । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नम्बर ३ स्थित बाडखोलामा रहेको नेपाल पेट्रोल्युब प्रालिको पेट्रोल पम्प कारबाहीमा परेकाे छ ।

पेट्रोल्यूब सप्लायर्सले मिसावटी पेट्रोल बेचेको भन्दै नागरिकको गुनासो आएपछि जिल्ला प्रशासन स्याङ्जाले गएको पुस २७ गते पम्प सिल गरेको थियो । पेट्रोल पम्प सिल गरेपछि पुस २८ गते नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराको टोलीले पेट्रोलको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।

उक्त परीक्षणपछि पम्पको पेट्रोलमा मिसावट देखिएको पुष्टि भएको थियो । जिल्ला प्रशासन कार्यालय स्याङ्जा अनुसार कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ६ अनुसार नगद जरिवाना र पेट्रोल नष्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चार जना सञ्चालकहरूलाई जनही रु १ लाख ८० हजार र कर्मचारीलाई १ लाख गरी ८ लाख २० हजार क्षतिपूर्ति कोषमा जम्मा गर्ने समेत गरी जम्मा ८ लाख ५२ हजार ८०० जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । यस्तै मिसावट गरी बेच्नका लागि राखिएको १ हजार ९० लिटर पेट्रोल खाल्टो खनेर नष्ट गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !