‘न्यायपूर्ण आन्दोलनहरूमा रेडियोले महत्वपूर्ण भूमिका खेलेको छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनयुद्ध, दोस्रो जनआन्दोलन र स्वतन्त्रताका पक्षमा भएका न्यायपूर्ण आन्दोलनहरूमा रेडियोले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । सरकारको मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएको र सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको बताए ।
उनले भने, “विश्व इतिहासमा रेडियोको इतिहास १२८ वर्ष पूरानो मानिन्छ । नेपालमा २००७ सालमा पहिलोपटक प्रजातन्त्र रेडियो नेपालको स्थापना भएसँगै विद्युतीय सञ्चारमाध्यमको प्रारम्भ हुन पुग्यो । आज देशभरि ६०० भन्दा रेडियोहरू सञ्चालनमा आएका छन्, हजारौँ सञ्चारकर्मीहरू रेडियोमा कार्यरत हुनुहुन्छ, लाखौँ स्रोताको सूचना एवं समाचारको प्राथमिक माध्यम रेडियोहरू हुने गरेका छन् । यो आफैमा महत्वपूर्ण उपलब्धि हो ।’’
महाभूकम्प, कोभिड–१९ लगायत राष्ट्रिय विपद् र चुनौतीको कठिन समयमा चुनौतीविरूद्ध संघर्ष गर्न, नागरिक सचेतना एवं अभिमुखीकरणका निम्ति रेडियोहरूले चलाएका कार्यक्रमहरू निकै प्रभावकारी देखिएको उनकाे भनाइ छ ।
उनले भने, “बन्दाबन्दीको समयमा विद्यालय, विश्वविद्यालय लगायत सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा समेत ‘रेडियो शिक्षा कार्यक्रम’मार्फत् पठनपाठन नियमित गर्न र शैक्षिक सत्र नै अप्ठ्यारोमा पर्ने परिस्थितिबाट बचाउन सामुदायिक रेडियोहरूले खेलेको भूमिका कहिल्यै बिर्सिन सकिन्नँ ।”
प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रता र सबलीकरणको सवालमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता समेत जनाएका छन् । उनले आफ्नो तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा वाक र प्रेस स्वतन्त्रतासँग सम्बन्धित केही विषयहरू थोरै विवादमा आउन थालेपछि आफूले प्रेस स्वतन्त्रताका पक्षमा पहल अघि बढाएको बताए ।