राष्ट्रियसभाका सदस्यहरुबीच ‘भर्चुअल’ छलफल,वैशाख ३ गते सातै प्रदेशका सभामुख र उपसभामुखसँग कुराकानी हुने
काठमाण्डौं, १ बैशाख ।
राष्ट्रियसभाका सदस्यहरुबीच भर्जुअल छलफल भएको छ ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा राष्ट्रियसभाका पदाधिकारी, संसदीय दलका नेता, सचेतक तथा समितिका सभापतिबीच ‘भर्चुअल’ छलफल भएको हो ।
अध्यक्ष तिमिल्सिनाको कार्यकक्षबाट झण्डै दुई घण्टा चलेको छलफलले नेपाल र भारतको सीमा क्षेत्रलगायत अन्य क्षेत्रमा क्वारेन्टाइनमा बसेका दुवै मुलुकका नागरिकको दुई देशका अधिकारी सम्मिलित टोली बनाएर संयुक्त अनुगमन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
क्वारेन्टाइनको व्यवस्थापनमा देखिएको कमीकमजोरी हेरेर सुधार गर्नुपर्ने, अन्य मुलुकमा रहेको नेपालीको हकमा सम्बन्धित मुलुकको कूटनीतिक मुलुकबाट दैनिक सूचना सङ्कलन गर्नुपर्ने तथा विदेशस्थित कूटनीतिक नियोग अत्यन्त सतर्क हुनुपर्छ भन्नेमा छलफलले जोड दिएको छ ।
विदेशबाट फर्केका र फर्कने युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा ल्याउनुपर्नेमा सदस्यहरुले जोड दिए ।
छलफलमा सहभागी हुँदै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले अब कृषि उत्पादनमा जोड दिए ।
नेकपाका सांसद रामनारायण विंडारीले निजी क्षेत्रका चिकित्सकलाई सरकारी सेवा सुविधा दिएर कोरोना सङ्क्रमितको उपचार गर्ने सरकारको निर्णयलाई कडाइका साथ लागू गरिनुपर्ने बताए ।
काँग्रेसकै तारादेवी भट्टले लकडाउनमा वडास्तरबाट पासको दुरुपयोग भएको भन्दै पास वितरणलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराईन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेसम्म भएको गतिविधि र आगामी दिनमा चाल्नुपर्ने कदमका सूची तयार गरेर सरकारलाई हस्तान्तरण गरिने अध्यक्ष तिमिल्सिनाले बताए ।
अध्यक्ष तिमिल्सिनाले यही वैशाख ३ गते सातै प्रदेशका सभामुख र उपसभामुखसँग भिडियो कन्फरेन्समार्फत छलफल गरिने जानकारीसमेत दिए ।