लागुऔषध सेवन गरी सवारी चलाउने चार जना चालक नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको कोटेश्वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरूलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाको मेलुङ गाउँपालिका ३ का २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका ४ का ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीको कमलामाई नगरपालिका ६ का २३ वर्षीय इन्द्र बहादुर बस्नेत र बागमती प्रदेश(०३(००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटको विदुर नगरपालिका ४ का २६ वर्षीय अर्जुन लामालाई लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले गएराति १० बजेदेखि १२ बजेसम्म २१ वटा सवारी साधन चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ४ जना चालकहरू फेला पारेको थियो ।