रोल्पाको सुनछहरी गाउँपालिकाद्धारा आँखा केन्द्र संचालन
उमा केसी
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले आँखा केन्द्र संचालनमा ल्याएको छ । जिल्लाको सुनछहरी गाउँपालिकाले विभिन्न सहयोगी निकाय सँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र संचालनमा ल्याइएको हो ।
ग्रामीण क्षेत्रमै आँखा उपचार सेवा पाएपछि स्थानीयहरु खुशी भएका छन । शिक्षा स्वास्थ्य र विकाशमा पछि पारिएको सुनछहरी गाउँपालिकामा आँखा केन्द्र संचालन भएसंगै दृष्टि गुमाउनबाट वच्न मदत पुग्ने भएको छ ।
सुनछहरी गाउँपालिकाको पोवाङमा संचालित उक्त ग्रामीण आँखा केन्द्र आँखा केन्द्र द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगंगाको सहयोग र सामुसदायिक आँखाकेन्द्र रोल्पाको सहकार्यमा स्थापना भएको हो ।
सामान्य आँखाको चेक जाँच र परामर्श सेवाको समेत अभाव भएकाले ग्रामीण क्षेत्रमा अन्धोपन वढ्दै गएको भन्दै रोल्पाको दुर्गम भनेर चिनिने सो स्थानमाआँखा केन्द्र स्थापना गरिएको वताइएको छ ।
केन्द्र स्थापना भएको अवसरमा निशुल्क आँखा जाँच र औषधि वितरण गरेको थियो । जस अन्तर्गत ५३ महिला र ४५ पुरुषको आँखा जाँच गरिएको थियो ।
जाँच गरिएका मध्ये ५ जनामा मोतिया विन्दुको भएको र ४५ जनालाई चश्मा प्रयोग गर्न सिफारिस गरिएको थियो । ५६ जनालाई भने निशुल्क औषधी वितरण गरिएको थियो ।
ग्रामीण भेगमा आँखा केन्द्र स्थापना भएको उपलक्ष्यमा उद्घाटन भएको १५ दिन सम्म निशुल्क आँखा जाँच गरिने वताइएको छ । औषधी र चश्माको भने शुल्क लिईने ग्रामीण आँखा केन्द्र पोवाङले जनाएको छ ।
आँखा केन्द्र संचालनका लागी १ वर्षसम्म द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम अन्तरगत तिल गंगा आँखा प्रतिष्ठान काठमाण्डौले व्यहोर्नेछ । यसका लागी उसले करिव २० लाख वरावरको सामाग्री र एक वर्षसम्मको जनशक्ति व्यवस्थापन गर्नेछ ।
एक वर्षपछि आँखा केन्द्रको समग्र व्यवस्थापन गाउँपालिकाले लिने सुनहरी गाउँपालिका अध्यक्ष धनवहादुर बुढा नमगरले जानकारी दिए ।
आँखा केन्द्रमा आँखाको नियमित जाँचका साथै चश्मा वितरण र सामान्य सल्यक्रियाका साथै औषधी समेत वितरण गरिने ग्रामीण आँखा केन्द्र पोवाङले जनाएको छ ।
ग्रामीण क्षेत्रमै आँखा उपचार सेवा भएपछि स्थानीयहरु खुखी भएका छन । शिक्षा स्वास्थ्य जस्ता विकासको पूर्वाधारबाट पछि पारिएको सुनछहरी गाउँपालिकामा आँखा केन्द्र संचालन भएसंगै अन्धोपनवाट वच्न मदत पुग्नसक्ने स्थानीय हर्कवहादुर बुढा मगरले जानकारी दिए ।