रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको प्रारम्भिक सुनवाइ आजबाट हुँदैछ ।
लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको छ ।
सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचीमा चढाइएको थियो । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज सफल भन्ने युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
यसअघि खारेज भइसकेको नागरिकता प्रयोग गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका लामिछाने चितवन २ विजयी बनेका थिए ।तर सर्वोच्च अदालतले प्रक्रिया नपुगेको र नेपाली नागरिक नरहेको व्यक्तिले निर्वाचनमा सहभागी भई विजयीसमेत भएको भन्दै उनको सांसद पद र निर्वाचन प्रक्रिया नै खारेज गरिएको थियो ।त्यसलगत्तै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।