३० कार्तिक २०८१, शुक्रबार

चलचित्रको गुणस्तरीयता बृद्धिमा जोड दिनुपर्छ :मन्त्री शर्मा

प्रकाशित मिति :  5 April, 2023 5:37 pm


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताइन् ।

नेपाली चलचित्र उद्योगका विभिन्न संघ संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चलचित्रको गुणस्तरीयता बृद्धिमा जोड दिन आग्रह गरेकी हुन् ।

“हिजो चलचित्रको संख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको संख्या बढाउनु महत्वपूर्ण नै हुन्थ्यो” उनले भनिन् “तर, अब छायांकनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिष्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।”

नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न लायक बनाउन चलचित्रकर्मीहरूलाई लाग्न आग्रह गर्दै उनले यसमा आवश्यक कानुन र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्वेत चलचित्र चलाउने कानुनले आजको डिजिटल युगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताइन् । अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उनले जतिसक्यो चाँडो मन्त्रालयबाट टुंग्याएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रिय रअन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !