डिजिटल नेपालको अवधारणालाई सार्थक बनाइने
काठमााडौँ । सरकारले डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन कुरालाई जोड दिने भएको छ ।
बिहीबार १० दलीय सत्ता गठबन्धनले सार्वजनिक गरेको ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा सूचना तथा सञ्चार क्षेत्रलाई विकास र विस्तार गर्न ठोस नीति र कार्यक्रम तय गर्ने जनाएको छ ।
त्यस्तै जनताको सूचनाको हकको ग्यारेण्टी गर्ने, पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गर्ने र गोपनियताको हक सुनिश्चित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नेपाललाई सन् २०२५ सालसम्म ‘डिजिटल नेपाल’ मा रुपान्तरण गर्न पूर्वाधार विकास र सूचना तथा सञ्चारले प्रविधिको प्रयोगमा जोड दिएको छ । सरकारले तीन वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पारित गर्दै यसलाई रुपान्तरणकारी आयोजनाका रुपमा अघि सारेको थियो ।
डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी मुलुकको आर्थिक रूपान्तरण र समृद्धि प्राप्त गर्न भन्दै मन्त्रिपरिषद्ले २०७६ कात्तिक ५ मा डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पारित गरेको थियो ।
फ्रेमवर्कमा एक राज्य, ८ कार्यक्षेत्र र ८० क्रियाकलाप ५ वर्षभित्रसम्पन्न गर्ने कार्ययोजना समावेश छन् । डिजिटल नेपाल फ्रेमवर्कमा नेपाल सरकार एप, पब्लिक वाइफाई, डिजिटल सिग्नेचर, राष्ट्रिय बायोमेट्रिक कार्ड, ई–हाटबजार, ई–ल्यान्ड, केन्द्रीय टेलीमेडिसिन, ई–हेल्थ रेकर्ड लगायतका सेवा समाविष्ट छन् ।
यसैगरी स्मार्ट टिचिङ, अनलाइन एजुकेसन, सेन्ट्रलाइज रजिस्ट्रेसन सिस्टम, ई–एटेन्डेन्स, स्मार्ट मिटरिङ, स्मार्ट ग्रिड, इलेक्ट्रोनिक्स भिसा, इलेक्ट्रोनिक्स टुरिजम गाइड, डिजिटल पेमेन्ट, मोबाइल वालेट सर्भिस डिजिटलहरू नेपाल फ्रेमवर्कका आधार हुन् ।