प्रधानमन्त्रीलाई गगन थापाको आग्रह : काठमाडौँ महानगरपालिकासँग तत्काल संवाद गरियोस्
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौँ महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल संवााद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
दुई तहका सरकारका बीचमा तत्काल सल्ट्याउनुपर्ने विषयहरूलाई सल्ट्याइहाल्न पनि उनले आग्रह गरेका छन् । थापाले महानगरपालिकाले राखेका जायज मागहरूलाई पूरा गर्न आवश्यक विषयहरूमा समझदारी कायम गर्न माग गरेका छन् ।
उनले भने,” प्रधानमन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु, कुनै विलम्व नगरीकन, कुनै आग्रह नगरीकन काठमाडौँ महानगरपालिकासँग छलफल गरियोस् । संवाद गरियोस् । जुन–जुन विषय अहिले सल्ट्याउनुपर्ने हो सल्ट्याइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो समझदारी कायम गरियोस् ।”
उनले देशका विभिन्न पालिका प्रमुखहरू सिंहदरबारमा कर्मचारी माग गर्न र सरुवा लगायतका कामहरू लिएर घुइँचो लागेको भन्दै पालिका प्रमुखहरूलाई सिंहदरबार घुम्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि उनले माग गरेका छन् ।