३ कार्तिक २०८१, शनिबार

बाँकेमा भारत र अन्य देशबाट आएका सबैको कोरोना परीक्षणको थप तयारी सुरु

प्रकाशित मिति :  15 April, 2020 11:07 am


बाँके, ३ बैशाख।

बाँकेमा भारत र अन्य मूलुकबाट आएका सबैको कोरोना भाइरस परीक्षणका लागि थप तयारी सुरु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले आज स्थानीय निकायलाई पत्राचार गर्दै भारत र अन्य देशबाट आएका सबै व्यक्तिको परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको बिवरणको माग गरेको छ ।

स्वास्थ्य कार्यालयको पत्रमा भनिएको छ,‘ लकडाउन भन्दा अगाडी र लकडाउनको समयभित्र यसजिल्लामा भारत लगायत अन्य मुलुकबाट आएका सम्पूर्ण व्यक्तिहरुको परीक्षण गर्नुपर्ने भएकाले सोको लागि आवश्यक स्वास्थ्य निर्देशनालयबाट मागका लागि यसै साथ संलग्न फरम्याट बामेजिम बिवरण उपलब्ध गराईदिनु हुन अनुरोध छ ।’

देशका विभिन्न ठाँउमा कोरोना संक्रमित मान्छे भेटिन थालेपछि परीक्षणलाई ब्यापक बनाउने सरकारले निर्णय गरेको छ ।

पछिल्लो समय लकडाउनलाई पूर्णताका साथ पालना गराउने र परीक्षणलाई ब्यापक बनाउने सरकारको रणनीति छ ।

बाँकेमा अहिलेसम्म ७६ जना शंकास्पद व्यक्तिको स्वाब प्रयोगशालामा परीक्षण गरिएपनि नेगेटिभ रिपोर्ट आएको छ भने आरडीटी विधिबाट गरिएको रिपोर्ट पनि नेगेटिभ आएको छ । बाँकेमा क्वारेन्टाइनमा रहेकाको आरडीटी विधिबाट कोरोना भाइरसको परीक्षण जारी छ ।

यससँगै भारत र अन्य मुलुकबाट आएका सबैको परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्री माग गरेर तयारी सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !