‘राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ’
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा नेकपा (एकीकृत समाजवादी) द्वारा आइतबार आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र संभावना’ विषयक बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही बिचार र नीतिका आधारमा कम्युनिस्टहरूलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु पर्ने बताएका हुन् ।
उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुबीकरणमा अगाडि बढ्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले आफूहरू राष्ट्र र जनताको आवश्यकता अनुसार थुप्रै नेताहरूसँगको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ भन्ने बिषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे।
उनले भने, “कम्युनिस्ट पार्टी भित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृति अंगिकार गर्यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि देख्यौं र आफ्नै आँखा अगाडि पनि देख्यौं ।”
उनले २०७४ को आम निर्वाचन कम्युनिष्टहरूले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरूले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैं भएको बताए ।
“राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरू एक हुन जरुरी छ,” उनले भने ।
लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरू एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाई थियो ।