५ आश्विन २०८१, शनिबार

तार व्यवस्थित गर्न सेवा प्रदायकलाई सञ्चारमन्त्रीको आग्रह

प्रकाशित मिति :  24 April, 2023 5:59 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख सहरी क्षेत्रमा तार व्यवस्थापन गर्न इन्टनेट सेवा प्रदायकहरूलाई आग्रह गरेकी छन् ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) का पदाधिकारीसँगको छलफलमा उनले यसको सुरुवात काठमाडौँ उपत्यकाबाटै गर्न आग्रह गरेकी हुन् ।

‘तपाइँहरूले सिंहदरवार, ठमेल, टोखा, ललितपुर लगायतका केही स्थानमा सुरुवात पनि गर्नुभएको छ’ उनले भनिन्, ‘चाहे संभव हुँदो रहेछ भन्ने पनि देखाउनुभएको छ । अब अन्य प्रमुख क्षेत्रमा नमूनाकै रुपमा भए पनि तार व्यवस्थापन गरेर सहरी सौन्दर्यकरणमा सहयोग गर्नुहोस् ।’

सरकारी नीति नियमले पारेका समस्या समाधानका लागि सरकारले पहल गर्ने उल्लेख गर्दै भएकै नीति नियमबाट गर्न सकिने जति सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन पनि मन्त्री शर्माले सेवा प्रदायकहरूलाई आग्रह गरेकी छन् ।

हरेक क्षेत्रमा जस्तै इन्टरनेटको क्षेत्रमा पनि हिजो बनेका नियम कानुनबाट विकास संभव नभएकोप्रति सरकारले ध्यान गएको पनि शर्माले स्पष्ट पारिन् ।

‘हिजो इन्टरनेटलाई मनोरञ्जनको माध्यमको रुपमा लिने अवस्थामा बनेका नियम कानुन कानुनहरू अहिले पर्याप्त छैनन् किनकि अब इन्टरनेट मनोरञ्जनको माध्यम होइन, अत्यावश्यकीय साधन भइसकेको छ’ मन्त्री शर्माले भनिन् “हिजो निर्धारण गरिएका करका दरहरू पनि पुनरावलोकन गर्ने भएको छ, यसमा हामी छलफल गर्न तयार नै छौं ।”

इन्टरनेट सेवा प्रदायक कम्पनीका सञ्चालकहरूले नेपालमा सरकारले इन्टरनेटमा मदिराजन्य वस्तुमा जस्तै ३३ प्रतिशतसम्म कर लिने गरेको भन्दै कर घटाए सेवा शुल्क पनि घटाउन सकिने बताएका थिए ।

पछिल्लो समय संघीय सरकारका अलावा स्थानीय तहले पनि इन्टरनेट जडानमा कर लिन थालेपछि समस्या सिर्जना भएको उनीहरूको गुसानो थियो । जवाफमा मन्त्री शर्माले एक तहको सरकारले कर लिइसकेपछि संविधानले दिएको अधिकार क्षेत्रबाहिर गएर अर्को तहले कर लिन नपाइने भएकाले यस्ता समस्या समाधान गर्न समन्वय गर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !