मैले पाएको मत समग्र मुलुककै मुहार फेर्नका लागि हो: वाग्ले
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका स्वर्णिम वाग्लेले आफूले पाएको मत समग्र मुलुककै मुहार फेर्नका लागि भएको बताएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै वाग्लेले अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जित(हारको प्रक्रियालाई स्वाभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गरेका छन्।
“यहाँहरूले प्रति प्रकट गर्नुभएको र मतदान गर्नुभएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईंहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु,’ उनले लेखेका छन्,‘ यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नम्बर १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु।’
वाग्लेले लेखेका छन्, “चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरी यहाँका स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रियामार्फत् योजनाहरू अघि बढाउने छु,” ।
साथै वाग्ले आज आफ्नाे निर्वाचन क्षेत्रमा धन्यवाद र्यालीमा सहभागी हुने कार्यक्रम रहेकाे र खादामालाको कम प्रयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन् ।