१ मंसिर २०८१, शनिबार

परिवर्तन उल्ट्याउने षड्यन्त्र असफल पार्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  25 April, 2023 5:20 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको बताए ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज (मंगलबार) गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजना गरेको भूकम्प स्मृति दिवस कार्यक्रममा उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् ।

पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उनले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्न भइरहेको प्रयत्नलाई समेत बदनाम गर्न खोजिएको बताए । । उनले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्ने तर्फ दलहरूले पनि समीक्षा गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भूकम्पलगायतका विपतलाई रोक्न नसके पनि विपतबाट हुने क्षतिलाई न्यूनीकरण गर्न योजना निर्माण गरिरहेको उल्लेख गरे ।

उनले सरकारले विपतबाट हुने क्षति न्यूनीकरणका लागि विपतको पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने गरी काम गरिरहेको भन्दै विगतका कमजोरीले भएका क्षतिलाई समीक्षा गरेर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । श्रेष्ठले विसं २०७२ को भूकम्पले बारपाकलाई नयाँ पहिचान दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !