नागरिकता विधेयक छिट्टै संसदमा पेश गरिने
काठमाडाैँ । सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्ने भएकाे छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका हुन्।
राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक संविधान र कानुन अनुसार अघि बढाउन नमिल्ने भएकाले सरकारले नयाँ शिराबाट त्यो विधेयक छिट्टै संसदमा ल्याउने तयारी गरेको उनकाे भनाइ छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सांसदहरुले भनेजस्तो राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको सो विधेयकलाई कानुन, संविधान र नियमावली अनुसार प्रमाणीकरण गरेर जान उपयुक्त र उचित नहुने निष्कर्षमा सरकार पुगेको बताए । उनले नागरिकता विधेयकमा सरकारले राष्ट्रिय सहमतीमा जोड दिन चाहेको प्रष्ट्याए।
सरकारले अव संसदमा ल्याउने नागरिकता विधेयक संसदबाट छिट्टै पारित हुने विश्वास पनि व्यक्त गर्दै श्रेष्ठले राष्ट्रिय सहमती भएन भने पनि संसदबाट पारित गराएर संविधान अनुसार नागरिकता पाउनेहरुलाई नागरिकता दिन सरकार प्रतिवद्ध रहेको बताए।
“नागरिकताको विषयमा केही माननीयजीहरुले भन्नु भयो–त्यो त प्रमाणीकरण गर्न राष्ट्रपति कहाँ गईसक्या हो । राष्ट्रपतिले प्रमाणीकरण नग-या हो । अहिलेको राष्ट्रपतिले गरिदिए भईहाल्यो नि भन्नु भयो । त्यो हुन्थ्यो भने अस्ती नै गएर हामी ऐनले जारी सक्या हुन्थ्यौं,” उनले भने ।
नयाँ शिराबाट नै विधेयक आउनेमा उनले आश्वस्त पारे । “केही छोटो समयको सहमतिको पहलको बाबजुद सहमती भएन भने हामी नागरिकता विधेयक लिएर आउँछौं । त्यसलाई संसदमा ल्याउँछौं । र, संसदले पारित गर्नेछ भन्ने विश्वास छ । र, छिट्टै कानुन बन्नेछ ।” श्रेष्ठले थपे ।