अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय खारेज गर्न एमालेकाे माग
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले माओवादीका अयोग्य लडाकुहरूलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् ।
उनले भने, “आज राज्यकोषमा रकम नभएको भन्दै ८० अर्व भन्दा बढि विभिन्न आयोजनाहरूलाई दायित्व भूक्तानी दिनुपर्ने अवस्था छ । १५ अर्व शिक्षक र कर्मचारीहरूलाई पेन्सन दिन दायित्व भुक्तानी बाँकी छ । ५ अर्व वृद्धवृद्धाहरूलाई अहिले सामाजिक सुरक्षा भत्ता दिन सरकारले बाँकि नै छ । ५ अर्व भन्दा बढि विमा र विपन्न कार्यक्रम अन्तरगत राज्यले दायित्व भुक्तानी गर्नुपर्नेछ । जसका कारणले विमितहरुले उपचार नगर्न नपाईरहेको अवस्था छ । २० अर्व राज्यले तिर्नुपर्ने साँवा र ब्याँज तिर्न नसकेको अवस्था छ ।’’
उनले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालत स्विकार्य नहुने बताए ।
सरकारले सो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीले चेतावनी दिएका छन् ।