५ आश्विन २०८१, शनिबार

सुशासन कायम गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका छ : मन्त्री शर्मा

प्रकाशित मिति :  2 May, 2023 2:30 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको एजेण्डालाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका रहेकाे बताएकी छन् ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको छैटौँ सञ्चार तथा सूचना प्रविधि दिवसकाे मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी हुन् ।

सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको बताइन् ।

उनले राहदानी, राष्ट्रिय परिचय पत्र, बैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, बैदेशिक रोजागरीमा रहेका नेपालीहरूलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच र परामर्शलगायतका सेवा सरकारले सुरु गरेको र यी सेवा प्रवाह सहज बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

उनले भनिन् “सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको छ । सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधि सम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चार सम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि सरकारले कार्य गरिरहेको छ ।”

मन्त्री शर्माले हरेक क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिको सुरक्षित प्रयोग बढाएर व्यक्तिको जीवन रुपान्तरणदेखि मुलुकको आर्थिक समृद्धि गर्न संभव भन्ने मान्यतामा सरकार दृढ रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !