यातायात कार्यालय सुकेधाराका तत्कालीन उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ । सुकेधारास्थित यातायात व्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव भट्टराईमाथी एक करोड १५ लाख २९ हजार १९३ रुपैँया बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनि बिशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
२०३८ साल साउन १ गते सार्वजनिक सेवा प्रवेश गरेको भट्टराईले २०७५ मंसिर मसान्तसम्म कुल आयतर्फ रु एक करोड ९२ लाख र व्यय रु तीन करोड सात लाख देखिएको अख्तियारले जनाएको छ । आयबाट समग्र व्यय घटाउँदा हुन आउने रु एक करोड १५ लाख २९ हजार १९३ रुपैँया बराबरको सम्पत्तिको स्रोत नखुलेको तथा भट्टराईले अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारले उल्लेख गरेको छ ।
भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई एवं छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको दाबी गर्दै सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्न आरोप पत्र दायर गरेको हो ।