बुद्धको जन्मले नेपाललाई विश्वभर चिनाउने माध्यम बनायो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको बताए । २५६७औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्विनीमा प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी रहेको बताएका हुन् ।
उनले मानव जातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्विनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको बताए ।
उनले भने, “अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्नेछु ।’’
मानव जातिले विश्वभरी आर्जन गरेका ज्ञान र दर्शन सबै मानव जातिका साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली दर्शनको वैभवशाली इतिहासलाई प्रचारप्रसार प्रवर्द्धन गर्ने काममा भने नेपाली बौद्धिक समुदायले ध्यान दिनुपर्ने बताए।
‘हाम्रो आफ्नै मौलिक दर्शन र चिन्तनलाई नजरअन्दाज गरेर हाम्रो दर्शन संस्कृति र सभ्यताको यात्रामा सफलता प्राप्त गर्न सकिँदैन, हाम्रो संस्कृति र सभ्यताको प्रवर्द्धन गर्ने प्रचारप्रसार गर्ने काम हाम्रै बौद्धिक समुदायको हो,’ उनले भने।