मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा
काठमाडौँ । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ। ‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भएकाे कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आएका छन् भने वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएका छन् ।
मनकामना केबलकारका संचालक राजेशबाबु श्रेष्ठले चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको बताएका छन् । श्रेष्ठले आउँदाे असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको बताए। वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ६ लाख १९ हजार ३७३ र भारतीय २ लाख ९ हजार ७४३ रहेको उनले जानकारी दिए।
कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहेको छ। यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।