नदीजन्य सामग्री बिक्रीबाट मनग्य आम्दानी गर्दै भीरकाेट नगरपालिका
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले प्रशोधित ढुङ्गा, गिटी, बालुवा लगायताका नदीजन्य निर्माण सामाग्री बिक्रीबाट मनग्य आम्दानी गर्दै आएको छ ।
नगरपालिकाको बिच भाग भएर बग्ने आँधीखोलामा पाइने नदीजन्य सामाग्री प्रशोधन गर्न पालिकाले ग्रीजी भाइब्रेटिंग मेसिनको स्थापना गरेको दुई वर्ष भएको छ । दुई वर्षकाे अवधिमा पालिकाले प्रशोधित केन्द्रलाई प्रमुख आयआर्जनकाे माध्यम बनाएकाे छ ।
नगरपालिकाका अनुसार गत आर्थिक वर्ष २०७८|०७९ मा पालिकाले नदीजन्य निर्माण सामाग्री बिक्रीबाट २ करोड ३३ लाख आम्दानी गरेको थियो भने चालु आर्थिक वर्ष २०७९|०८० को पौष मसान्तसम्म नदीजन्य निर्माण सामाग्री बिक्रीबाट करिब १ करोड आम्दानी भैसकेको पालिकाको आर्थिक प्रशासन शाखा प्रमुख जब्बर अलि मियाँले जानकारी दिए ।
नदीजन्य सामाग्रीको उत्खनन्, प्रशोधन र बिक्रीवितरणलाई व्यवस्थित गर्न एवम् गुणस्तरीय निर्माण सामाग्री उपलब्ध गराउने उद्देश्यले पालिकाले “ भीरकोट नगरपालिकाको क्षेत्र भित्र पर्ने नदीजन्य पदार्थको उत्खनन् , प्रशोधन तथा विक्रीवितरण सम्बन्धी कार्यविधि ,२०७७ “ अनुसार काम गरिरहेको प्रशासन शाखा प्रमुख मियाँले बताए ।
आर्थिक रूपमा आत्मनिर्भर बनाउन फोहरमैला व्यवस्थापन तथा सरसफाइ केन्द्र स्थापना, गडहरे गुफा विकास गुरूयोजना निर्माण र नदीजन्य निर्माण सामाग्री प्रशोधन केन्द्रको स्थापना गरिएको पालिकाले जनाएको छ ।
प्रशोधन केन्दको स्थापना आफ्नो कार्यकालको मुख्य उपलब्धी बताउने नगरप्रमुख गाेविन्द कर्मचार्यले प्रशोधित निर्माण सामाग्री प्रयोग गरी पालिकाको भौतिक पूर्वाधार निर्माणलाई दिगो र गुणस्तरीय बनाउने लक्ष्य सहित प्रशोधन केन्दको स्थापना गरिएको बताए ।
प्रशोधन केन्द्रलाई व्यवस्थित रूपमा संचालन गर्ने हो भने वार्षिक ५ करोड सम्म आम्दानी गर्न सकिने उनको दाबी रहेकाे छ। व्यवसायिक कृषिलाई प्राथमिकता दिँदै गडहरे गुफा, स्वरेक मैदान , सुन्दरचौर क्षेत्रमा पर्यटन प्रबर्द्धन गरेर थप ५ करोड आन्तरिक आम्दानी गर्न सकिने आर्थिक प्रशासन शाखा प्रमुख मियाँले बताए ।
प्रशोधित निर्माण सामाग्री बालुवा प्रति घनमिटर २ हजार ४ सय , ठूलो ढुङ्गा प्रति घनमिटर ४ सय सानो ढुङ्गा प्रतिघनमिटर २ सय , गिटी प्रति घनमिटर १ हजार पाँच सय र चिप्स प्रति घनमिटर १ हजार ४ सय रूपैयाँका दरले बिक्री भैरहेको पालिकाले जनाएको छ ।
उत्खनन् , प्रशोधन र विक्रीवितरण कार्यलाई व्यवस्थित पारदर्शी बनाउन कार्यविधि अनुसार नगर प्रमुखको अध्यक्षतामा ११ सदस्यीय अनुगमन समिति गठन समेत गरिएको छ ।