१ मंसिर २०८१, शनिबार

हराएका २३ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धीत धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  19 May, 2023 11:04 am


काठमाडौँ । विभिन्न मितिमा हराएका २३ वटा दुई पाङग्रे सवारी साधन भेटिएका छन् । ट्राफिक प्रहरीले बिहीबार ती सवारीसाधन सम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।

योसँगै चालु आर्थिक वर्षमा ४ सय २७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाएकाे छ । चालु आर्थिक वर्षमै ३० वटा चोरीका २ पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जनाकारी दिए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्नुका साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।



प्रतिक्रिया दिनुहोस !