६ आश्विन २०८१, आइतबार

राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठनको ‘कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क’ सार्वजनिक

प्रकाशित मिति :  19 May, 2023 12:51 pm


काठमाडौँ । नेपालको समग्र कृषि तथा वन क्षेत्रको रुपान्तरणमा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठन (एफ ए ओ) को र्कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क २०२३—२०२७ सार्वजनिक गरिएको छ ।

काठमाडौँमा एक कार्यक्रमका बीच सन् २०२३ देखि २०२७ सम्मको रणनीतिक कार्यक्रम समावेश भएको सो फ्रेमवर्क कृषि तथा पशुपंक्षी विकास मन्त्री डा। बेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठन (एफ ए ओ) का एशिया प्रशान्त क्षेत्रका प्रमुख जोङ्ग जिन किम र संयुक्त राष्ट्र संघीय आवसिय प्रतिनिधि हाना सिंगर ह्याम्डीले संयुक्त रुपमा सो फ्रेम वर्क सार्वजनिक गरेका हुन् ।

सो फ्रेमवकमा अर्थ मन्त्रालयका सह सचिव श्रीकृष्ण नेपाल र एफ ए ओ नेपालका प्रमुख केन शिमिजुले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा। बेदुराम भुषालले, नेपालको कृषि क्षेत्रको विकासमा एफएओ नेपालको साथको प्रशंसागर्दै दिगो विकासका लक्ष्य प्राप्त गर्न यो फ्रेमवर्कले सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए। एफएओ नेपालसँगको करिब ७ दशक भन्दा लामो सहयोग र सहकार्यको प्रशंसा गर्दै उनले यो फ्रेमवर्क नेपाल सरकार र एफएओको साझा दस्तावेज रहेको र यसले नेपालको कृषि क्षेत्र तथा वन क्षेत्रको दीगो विकास, खाद्य तथा पोषण सुरक्षा कायम गर्ने साथै दीगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठले यो कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क सिपिएफले नेपालको खाद्य प्रणाली रुपान्तरण, भोकमरी तथा गरिबी विरुद्धको राष्ट्रिय अभियानमा सहयोग गर्न तथा जलवायु परिवर्तनसँग जुध्न विशेष भूमिका रहनेमा विश्वस्त रहेको कुरा व्यक्त गरेका थिए ।

एफएओका एशिया प्रशान्त क्षेत्रका प्रमुख जोङ्ग जिन किमले नेपाल सरकारले तय गरेका नीति तथा प्राथमिकतालाई एफएओको म्यान्डेट अनुसार सहयोग गर्न तत्पर रहेको र एफएओले उत्पादनमा वृद्धि, पोषणमा सुधार, वातावरणमा सुधार, संवृद्ध जीवनयापनको रणनीतिक ढाँचा अनुसार आफ्ना सदस्य राष्ट्रहरुमा कार्यक्रम तथा क्रियाकलाप संचालनमा ल्याएको जानकारी गराए ।

उनले यस्ता अभ्यासले समावेशी विकास मात्र नभई सबै नागरिकका लागि खाद्य सुरक्षाको प्रत्याभूति हुनेमा जोड दिए । किमले कुपोषण र अन्य खाद्य सुरक्षा चुनौतिहरू सम्बन्धी मुद्दाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न देशको खाद्य प्रणालीलाई रूपान्तरण गर्न आवश्यक रहेको बताए ।

र्कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क २०२३—२०२७ सार्वजनिक कार्यक्रममा विभिन्न देशका राजदुत, विकास साझेदारी निकायका प्रमुख तथा प्रतिनिधि सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, कृषि व्यवसायी, उद्यमी, युवा समूह तथा सरोकारवालाहरूको विशेष सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !