ट्राफिक प्रहरीको लापसे चेकिङमा ५ जना पक्राउ
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ५ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरू सबै मोटरसाइकल चालक हुन् ।
पक्राउ पर्नेमा लु ८२ प ७३ ९६ नम्बरका मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२–०२४ प ९२८३ नम्बरका मोटरसाइकल चालक काठमाडौँकै रामकोट बस्ने २० वर्षीय सन्देश शाही र बा ३ प ६६ ४४ नम्बरको मोटरसाइकल चालक ललितपुरको बालकुमारी बस्ने ४० वर्षीय रवी महर्जन रहेका छन् ।
यसैगरी बा ३५ प ९१ १३ नम्बरका मोटरसाइकल चालक न्युरोड बस्ने २२ वर्षीय शोभन शर्मा र बा ८४ प ४२८८ नम्बरको मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने २६ वर्षीय दिपजंग रेग्मी रहेको ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले आज २३ वटा सवारी साधन चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँच जना मोटरसाइकल चालक फेला पारेको उनको भनाइ छ