११ आश्विन २०८१, शुक्रबार

लगातार घाटामा गएपछि उदयपुर सिमेन्ट उद्योगमा भूतप्रेत भगाउन भन्दै तान्त्रिक पूजा गरियो

प्रकाशित मिति :  21 June, 2023 10:53 am


काठमाडौँ । लगातार घाटामा गएपछि उदयपुर सिमेन्ट उद्योगमा तान्त्रिक पूजा लगाइएको छ ।

लगातार घाटामा गएको र नेतृत्व पनि नटिकेपछि उद्योगमा तान्त्रिक पूजा गरिएको हो । उद्योगभित्रकै एक महिला कर्मचारी ‘तान्त्रिक माता’ ले पूजा गरेकी छन् ।

उदयपुर सिमेन्टका निर्देशक बालकृष्ण भट्टराईले आफ्नो फेजबुकमा हिजाे भएकाे पूजाको फोटो हाल्दै भनेका छन्,“हाम्रै उद्योग परिवार भित्र एक जना तान्त्रिक माता हुनुहुँदो रैछ ! आज उनै माताले हाम्रा यावत प्लान्ट एण्ड मेशिनरीको निरन्तर सुसञ्चालन, थप कार्यदक्षता र जीवन्तता हेतु विभिन्न अनिष्ट, भूतप्रेत आदिको कुनै दोष वा बाधा भए ती सबै व्यावधान मेटाउने गरी आफ्नो तान्त्रिक शक्तिको यहाँ प्रयोग गरिदिनु भयो !”

तान्त्रिक पूजाका क्रममा उद्योगका पदाधिकारी,मजदुर/कर्मचारी लगायत सबै उपस्थित थिए । उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपाने यही असार ४ गते मात्रै पदबाट राजीनामा दिएका थिए । उनले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीलाई राजीनामा दिएका हुन् ।

महाप्रबन्धक न्यौपानेले ३१ वर्ष पुराना जीर्ण मेसिनहरू मध्ये क्लिन सेल फेर्न, बर्नर फेर्न, जीसीटीको मर्मतसम्भार गर्नुपर्ने भन्दै रकम माग गरेका थिए ।

उनले मेसिन मर्मत र क्याल्सनाइर प्रविधि जडान गरी हालको दैनिक ६ हजार बोरालाई वृद्धि गरी दैनिक १६ हजार ८ सय बोरा पुर्‍याउन भन्दै असार मसान्तसम्म १५ करोड रुपैयाँ उद्योगमन्त्री समक्ष माग गरेका थिए ।

मन्त्रीले उद्योग सञ्चालक समितिको बैठकमा उक्त रकम दिन नसकिने बताए पछि महाप्रबन्धक न्यौपानेले राजीनामा दिएका हुन् । तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेलको पालामा बाहेक अन्य समयमा लगातार सिमेन्ट घाटामा छ ।



प्रतिक्रिया दिनुहोस !