१२ आश्विन २०८१, शनिबार

मन्त्री वा नेताले समस्याका विषयमा जनतासँग संवाद गर्न नचाहेको नेता पुनको टिप्पणी

प्रकाशित मिति :  21 June, 2023 5:14 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरूले सकेसम्म समस्याहरूका विषयमा जनतासँग संवाद गर्न नचाहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा बोल्दै नेता पुनले काम गर्न समस्या भएको विषयमा जनतासँग संवाद गर्न सक्नुपर्ने बताए ।

उनले सरकारका समस्या, सुविधाहरू र सरकारले जनतालाई दिने सेवाहरूको विषयमा जनतासमक्ष संवाद गर्नेकुरा लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।

सरकारले महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता सरकारले काम गर्ने तरिकाकै कारण भएको भन्दै राहदानी खरिदमा चलखेल हुनु राम्रो नभएको बताए ।

जनतामा राजनीतिक व्यक्ति र प्रशासकले सेवाग्राहीलाई सधँै हेप्छन् भन्ने भाष्य रहेको उल्लेख गरे ।

उनले भने,“केही वर्षअघि विद्युतीय राहदानीमा जाने सरकारले निर्णय गर्‍यो । तर त्यो समयमा प्राप्त पूर्वाधार बनाउन नसक्दा अहिले समस्या आएको हो । मन्त्रालय जनप्रतिनिधि संस्था भएकाले समस्या जस्ताको जस्तै राख्नुपर्छ । सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरुले सकेसम्म समस्या बताउँन चाहँदैनौं । जनता वा सेवाग्राहीहरुसँग संवाद गर्न चाहँदैनौं ।”

राहदानी खरिद महँगोमा ल्याउनुपर्ने कारण काम गर्ने शैली भएको उनको भनाई थियो । उनले भने,“निरन्तर रुपमा भेरियसनको माध्यमबाट राहदानी खरिद गर्दा पक्कै चलखेल र कमिसन होला भन्ने लागेकोले शंकाको घेरामा रहेको हो ।”

नेता पुनले केही वर्ष अघिको सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरेपनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको बताए ।

उनले सरकारले काम गर्न समस्या भए जनतालाई सो समस्या जस्ताको त्यस्तै राख्न सक्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !