१२ आश्विन २०८१, शनिबार

समाजवादी मोर्चा तथा पार्टी एकताबारे प्रचण्ड र विप्लवबिच ‘गम्भीर छलफल’

प्रकाशित मिति :  22 June, 2023 11:50 am


फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ ।

एउटै मोर्चामा रहेका दुई शिर्ष नेताबिच छलफल भएको हो ।

प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे दुई नेताबीच गम्भीर छलफल भएको बताएकी छन् ।

दाहालले भटेबारे उल्लेख गर्दै ‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आंदोलनको उपलब्धिको रक्षा र पार्टी एकता बारे गम्भीर छलफल’ भनेकी छन् ।

यही असार ४ गते माओवादी केन्द्र, नेकपासहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गरेर चार पार्टीले समाजवादी मोर्चा बनाएका छन् ।

२०६९ मा प्रचण्डले धोका दिएको भन्दै मोहन बैद्य किरणको नेतृत्वमा पार्टी विभाजित भएको थियो ।

त्यसको २ वर्षमै विप्लवले नयाँ पार्टी बनाएका थिए । एकीकृत जनक्रान्तिको कार्यदिशा अपनाउँदै नेकपा भूमिगत भएपछि सरकारले प्रतिबन्ध समेत लगाएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वका सरकार रहेका बेला ३ बुँदे सम्झौता गरी विप्लव खुल्ला भएका थिए । विप्लव खुल्ला भएदेखि नै विप्लवसँग पार्टी एकताका लागि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सकृय छन् ।



प्रतिक्रिया दिनुहोस !